जथाभावी बाटो काट्दै हुनुहुन्छ भने होसियार ! दुई सय तिर्नुपर्ला
काठमाडौँ । यदि तपाई पैदल हिँड्दा सडकको फुटटपाथ छोडेर हिँड्नुहुन्छ र जथाभावी बाटो काट्ने गर्नुहुन्छ भने होसियार, तपाई ट्राफिक प्रहरीको फन्दामा पर्नसक्नु हुन्छ ।
ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि उपत्यकामा पैदल यात्रु सुरक्षा अभियान सञ्चालन गरेको छ । जेब्रा क्रसिङ, आकाशे पुल, सब(वेको प्रयोग नगरी जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले दुई सय रुपैँया जरिवाना लिन थालेको छ । तर पैसा नभएको खण्डमा तीन घण्टासम्म प्रहरी नियन्त्रणमा रही आधा घण्टा प्रशिक्षण लिनुपर्ने हुन्छ । मंगलबार राजधानीका सडकमा धेरै पैदल यात्रु ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । विहान ८ बजेबाट सुरु गरेको यो अभियानमा ४ घण्टाका बीचमा झण्डै १४ सय जना पैदलयात्रु कारवाहीमा परिसकेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
हरेक वर्ष सडक दुर्घटनामा ४२ प्रतिशत पैदलयात्रीको मृत्यु हुँदै आएको र गत वर्ष एक सय ६६ जनाको सडक दुर्घटनामा मृत्यु भएको तथ्यांक रहको छ । त्यसमध्ये ६९ जना पैदलयात्रीको मृत्यु भएको थियो।
सवारी तथा यातायात व्यवस्था एेन २०४९ को दफा १३६ र १३७ अनुसार यस्तो कारवाही सुरु गरेको हो । यस्तो छ ऐन :
१३६। पेटीबाट हिँड्नु पर्ने मानिस हिँड्ने पेटी भएको सडकमा मानिसहरू सो पेटीबाट नै हिँड्नु पर्छ । पेटी नभएको सडकमा हिँड्दा सो सडकको किनारा च्यापी हिड्ने गर्नु पर्छ ।
१३७। निर्धारित ठाउँबाट बाटो काट्नु पर्ने पैदल हिँड्ने मानिसले बाटो काट्नु पर्दा जेब्रा क्रसिङ्ग, सब–वे, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएको ठाउँबाट मात्र बाटो काट्नु पर्छ ।यो अधिकार विभागसँग २०४९ देखि भएपनि कार्यान्वयनमा आएको थिएन। गत वैशाख १३ गते मात्रै यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेपछि महाशाखाले कारबाही सुरु गरेको थियो।
Comments
Post a Comment