निर्वाचनको बीचमा प्रधानमन्त्री नफेरौं : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बीचमा प्रधानमन्त्री फर्ने कार्य नगर्न संसद्मा प्रतिनिधित्वि गर्ने दलहरूलाई सुझाव दिनुभएको छ ।उहाँले भन्नुभयो, ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा प्रधानमन्त्री बदल्ने कार्य ठीक भएन । एउटै प्रधानमन्त्रीले एकै किसिमको निर्वाचन गर्दा राम्रो हुन्छ ।’
राष्ट्रपति भण्डारीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको सर्वदलीय बैठकमा भन्नुभयो, ‘राष्ट्रिय मुद्दामा दलबीच एकता अपरिहार्य छ । चुनावमा तपाईंहरू दलीय नेतृत्व गर्नुहोस् तर राष्ट्रिय मुद्दामा दल होइन, राष्ट्र र जनता हुनुपर्छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेतामाझ राष्ट्रपतिले भन्नुभयो, ‘दलहरूले राष्ट्रिय मुद्दालाई उच्च प्राथमिकता दिनै पर्छ ।’
राष्ट्रपतिको भनाइ उद्धृत गर्दै नेमकिपाका नेता सुवालले अन्नपूर्णसँग भन्नुभयो, ‘तपाईंहरूलाई सहमतिको सरकार गठन गर्न आजै (बुधबार) राति १२ बजेसम्मको सयम सीमा दिएको छु । मलाई आशा छ, तपाईंहरू एक हुनुहुनेछ । कदाचित सहमतीय सरकार गठनका लागि एक हुन नसके पनि राष्ट्रिय मुद्दामा आगामी दिन एक हुँदै अघि बढ्नुहुनेछ ।’
‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा दुई प्रधानमन्त्री ठीक भएन । एउटै प्रधानमन्त्रीले निर्वाचन गराउनु राम्रो हुन्छ। यसले दलबीच एकता र प्रजातान्त्रिक अभ्यासले गतिसमेत लिन्छ’, सुवालले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भन्नुभयो ।राष्ट्रपति भण्डारीले सहमतिको सरकार गठनका लागि दिएको समयलाई सदुपयोग गर्न नेताहरूलाई आग्रह गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
Comments
Post a Comment